12
May
10

मान्छेको मनभित्र जति माया हुन्छ त्यतिनै अरुप्रति ईर्श्या रिस र डाहा पनि हुने गर्दछ। सायद त्यसैको परिणाम होला एकले अर्कालाई होच्याएर बोल्ने प्रवृति। जुन कहिले काहि सकारात्मक पनि हुने गर्दछ, किन कि कसैले आफुलाई नकारात्मक टिप्पणी गर्दा यदि उसको कुनै कुरामा गल्ती भएको छ भने उसले सुध्रने मौका पाउनेछ। जुन उसको लागी फाईदानै हुन जान्छ। त्यसैले अरुले आफुलाई गाली गर्दा त्यसको बदला लिने उदेश्य भाव लिएर अगाडी बढ्नुभन्दा आफ्नो गल्ती के हो बुझ्ने कोसिश गर्नुपर्छ। (यसमा मेरो भनाईको मतलब अरुको गाली सधै सहेरनै बस्नु पर्छ अनि अरुलाई सधै नकारात्मक दृष्टिकोणले हेर्नुपर्छ भन्ने चाहि कदापी होईन।) अनि जुन हामीहरुको अरुको कुरालाई सधै नकारात्मक टिप्पणी गर्ने प्रवृति छन् त्यसमा हामीले अरुको कुरालाई सधै गाली गलौज डर धम्कीको भाषा प्रयोग गर्नुभन्दा राम्रो कुरालाई हौसला दिने अनि नराम्रो कुरालाई सल्लाह सुझाब दिने बानी बसाल्दा नै हितकारी होला।

सुवाश श्रेष्ठ गोरखा नेपाल

30
Mar
10

गजल

बाटो माथी ठुलो रुख पिपलु र बर ,
त्यहिँ रुखको दाँया पट्टि पर्छ मेरो घर।

याद आउँदा कहिले काहि भेट्दै गर्नु है,
आफ्नो मनलाई सफा राख मान्नुहुन्न डर।

अरुले कुरा काटेपनि छुटाउन आँटेपनि,
बिश्वासको हाम्रो बाँध फुट्नु हुन्न तर ।

जुनी जुनी बाँच्नु पर्छ सँगै सँगै हामी,
तिमी मेरो अनि म तिम्रो पर्नु पर्छ भर।

बाटो माथी ठुलो रुख पिपलु र बर ,
त्यहिँ रुखको दाँया पट्टि पर्छ मेरो घर।

28
Mar
10

सच्चा प्रेम

म एकदिन बिहानै उठेर सैलुनमा गएको थिए, अनि त्यहाँ एकजना वृद्ध हतारमा कपाल काट्दै थियो, उनि निकै हतारमा देखिन्थ्यो । राम्रो सँग कपाल पुरा पनि नकाटी वृद्ध त्याँहा बाट हिड्न लागे अनि मैले उसलाई सोधे, तपाई किन यति हतारमा कपाल पनि पुरा नकाटी कता जानुहुन्छ? अनि उसको जवाफ थियो उसको श्रीमती अस्पतालमा एल्जाइमर को बिरामी रहेछ, अनि उनैलाई भेट्न र बिहानको नास्ता सँगै गर्न अस्पताल जादै रहेछ। अनि मैले सोधे के तपाई समयमा त्यहाँ पुगेन भने श्रीमती रिसाउनुहुन्छ अनि उसको जवाफ थियो, उसको श्रीमतीले उसलाई भुलिसकेकी रहेछ, ५ वर्ष देखि नचिन्ने रहेछ। अनि मैले भने, उनले तपाइलाई चिन्नुहुन्न फेरी तपाई चाही किन सधै उनलाई भेट्न जानुहुन्छ? अनि उसले हाँस्दै भने उनले त मलाई चिन्न सक्दिन तर मत उनलाई चिन्छु नि उनि को हुन् भनेर । अनि उसको जवाफले म लाजवाफ भएर सोच्दै बसिरहे सायद यस्तैलाई भन्छन सच्चा प्रेम ।

28
Mar
10

नयाँ आशा हुँ म

समुन्द्रको समिप्यमा प्यासा हुँ म ,
हरेक दिन नयाँ नयाँ आशा हुँ म ।
राम्रो लाग्छ मलाई आफै सँग बात गर्न ,
पिउने गर्छु तर आफै नशा हुँ म ।
जिउँदो छु आजसम्म भगवानको कृपाले ,
लाग्छ कहिले काही आफै सजायँ हुँ म ।
बुझ्ने मान्छे कहिलेपनि भेटिदैन कोही,
तर आफै एक नयाँ भाषा हुँ म ।
अरुभन्दा फरक छ जिउने तरिका मेरो ,
तर अरुको लागि एक तमाशा हुँ म ।
भेटेपछि एकचोटी अवश्य पढ्नुहोला,
गजबको कथामा एक मजा हुँ म ।
समुन्द्रको समिप्यमा प्यासा हुँ म ,
हरेक दिन नयाँ नयाँ आशा हुँ म ।

28
Mar
10

सफल जिन्दगीको मार्गदर्शन

मान्छेहरु जिन्दगीमा जो कोहि पनि सफलताका साथ अघि बढ्न चाहन्छ तर सबै मान्छे सबै कुरामा सफल भने भएका हुदैनन् ।यदि तपाई सफलता प्राप्ति गर्न चाहनुहुन्छ भने समस्या होइन त्यसको समाधान खोज्ने तर्फ लाग्नुस् । सफल कामको लागि भोलि कहिले आउदैन त्यसैले आजको काम आज नै गर्नुस । मान्छेले काम गरेपछि गल्ति त हुन्छ नै तर गल्ति सुईकारेर सुधार्ने प्रयास गर्नुपर्छ । त्यस्ता व्यक्ति आफ्नो जिन्दगीमा सफल हुन्छन जो अरुको नक्कल होईन कामको अन्दाज गर्ने गर्दछ । कुनै काम गर्दा कहिलेकाही असफल पनि हुन् सक्छ, अनि असफल भएर निराश हुनुभन्दा असफल हुनुको कारण पत्ता लगाई त्यसको समाधान तिर लाग्नुपर्छ किन कि सफलता त्यतिकै अरु कहिँ बाट प्राप्ति हुने कुरा होईन, त्यो आफ्नै कामको प्रतिफल हो । हामीले हाम्रो भाग्य आफैले बनाउने हो, जस्तो काम गर्र्यो हाम्रो भाग्यपनि त्यस्तै बन्ने गर्छ, त्यसैले हाम्रो समाजको विद्धमान अन्धविश्वासलाई चिर्दै भाग्यमा होईन कर्ममा विश्वास गर्नुस, जसले तपाईको सफल जिन्दगीको मार्गदर्शन खुल्न सक्छ। एकचोटी असफल भयो भनेर कामलाई छोड्नु भन्दा धर्यताका साथ त्यसैलाई निरन्तरता दिने गर्नुस।

19
Sep
09

शुभ विजया दशमी २०६६

Hi

Hi

16
Aug
09

आजकाल ईन्टरनेट, मोबाईलको जमाना  हरेक गाँउको कुना कुना सम्म मोबाईल अनि ईन्टरनेटको सुविधा पुगिसकेका छन्। सबैको हातमा मोबाईल देखिन्छ। मानव जातीको बिकास सँगै उसलाई चाहिने हरेक उपभोग्य सामान हरुको पनि बिकास हुदै गईरहेका छन्। सामान्य सर्वसाधारण मान्छेहरुको हात सम्म अहिले मोबाईलको पहुँच पुगिसकेका छन्। मलाई के लाग्छ भने, कुनै पनि मान्छेले मोबाईल, ईन्टरनेट या जुनसुकै उपभोग्य समानहरु पनि  प्रयोग गर्छ  भने उसलाई त्यसको बारेमा सामान्य जानकारी हुन जरुरी हुन्छ। तर कतिपय मान्छेहरु मोबाईल प्रयोग गर्छन् तर त्यसको बारेमा सामान्य जानकारी समेत हुदैन, अनि सानो समस्याको लागी पनि अरुको सहयोग लिनुपर्ने हुन्छ। समस्या पर्दा अरु मान्छे सम्म धाउने गर्दछ तर उसले कहिले आफुले सिक्ने कोसिश गर्दैन। यो नै हामीहरुको सबैभन्दा ठूलो समस्या हो। कहिले सम्म हामीहरु सानो सानो कुराहरुमा पनि परनिर्भर भईरहने हो। मैले यो मोबाईलको त एउटा उदाहरणको रुपमा मात्रै याहाँ राखेको हुँ। यस्ता धेरै समस्याहरु छन् हामीमा त्यसको समाधानको लागी सधै अरुको भर परेर बस्नु भन्दा आफैले समस्याको समाधान गर्ने कोसिश तिर लाग्नु पर्छ। सानोतिनो कुराहरु हामीले सिक्न नसक्ने होईन तर हामी ले सिक्ने, बुझ्ने प्रयासनै गर्दैनौ। त्यसैले कुनै पनि काम नजान्ने भन्दा पनि जान्न नखोज्ने ठूलो समस्याको रुपमा रहेको छ।

30
May
09

धेरै भएको थिए म याहू च्याट रूम म नगएको, अनि आज खै आफैलाई कस्तो भयो च्याट रूममा गएको थिए ओहो नेपाली साथीहरुको गफ सुनेर त मलाई एक्लै पनि लाज लागेर आयो, मानौ राम्रो कुराहरु बोल्दा हामी तल्लो दर्जाको भईन्छ जस्तो। कहिले काही लाग्छ हामी नेपालीहरु को पहिचान पछि गएर यस्तै रुपमा चिनिने त हैन। के राम्रो बोली बोलेर हामी आफ्नो पहिचान बनाउन सक्दैनौ?

26
May
09

आफ्नो लागी आफै आत्मनिर्भर बनौ

प्रकृतिले भरिपूर्ण भएको सुन्दर फूलबारी हाम्रो देश नेपाल, तर यहाँ हामीले कहिल्यै पनि यस फूललाई सिंचाई, गोडमेल गरेर फुलाउन सकेनौ। प्रकृतिले हामीलाई दिएको यो फूललाई फुलाएर सारा सँसारलाई सुगन्ध छर्न सकेको भए हजारौ बिदेशीहरुलाई हाम्रो देश नेपालमा आकर्षित गरेर त्यसैबाट हामीले मनग्य आर्थीक आर्जन गर्न सक्थ्यो। तर बिडम्बना कहिले काही नेपाल आएका बिदेशीहरु पनि नाक खुच्याउनु पर्ने अवस्था भएको छ अहिले नेपालमा। हाम्रो यो सुन्दर बगैंचालाई सिंचाई अनि गोडमेल गर्ने राम्रो मालीको अभावले गर्दा नै होला सायद हाम्रो देश नेपाल हामीले सोचेको जस्तो हुन नसकेको। स्वाभिमानी हामी नेपाली सँसारको हरेक कुनामा छरेर रहेका छौ। विश्वमा हामी लगनशिल,   ईमान्दार नेपाली भनेर चिनिन्छौ, हामी बिदेशमा गएर जस्तो सुकै काम गर्न पनि पछि पर्दैनौ।  सस्तो मुल्यमा आफ्नो परिश्रम बेच्छौ। तर त्यहि व्यक्ति आफ्नै देशमा काम गर्न हिच्किचाउछ। मलाई जहाँसम्म लाग्छ यो नै हामी नेपालीको सबै भन्दा ठुलो कमजोरी हो।  

                                                आफ्नै देशमा पनि प्रशस्त सम्भावना हरु छन् तर हामीले सहि समयमा सहि सदुपयोग गर्न नजानेको कारणले गर्दा नै हामी पछि परेका छौ।  हाम्रो देश नेपालमा जस्तो स्वच्छ हावापानी सायद विश्वमा बिरलै पाईन्छ होला। तराईको समथर भु-भाग, पहाडका ति हरियाली जंगल नदिनाला अनि त्यो सुन्दर हिमाल, साच्चै  यसलाई सहि काममा सदुपयोग गर्न सकेको भए, हामीले बिदेशमा  गएर कमाउने पैसा  भन्दा कयौ गुणा बढि  आराम सँग आफ्नै देशमा बसेर कमाउन सकिन्थ्यो। तर बिडम्बना भनु या दुर्भाग्य, आफ्नै देशको जंगलमा भएका जडिबुटीहरु बिदेशमा जान्छन्, अनि हामी आफुलाई चाहिने औषधीहरु बिदेश बाट आयात गर्छन्। जलस्रोतमा विश्वको दोश्रो धनी देश, याहाँका नदिनाला हरु बाट बिजुली उत्पादन गरेर हामीले यसैबाट पनि धेरै आर्थीक आम्दानी गर्न सक्थ्यौ तर अहिले आफ्नै देशमा दिनमा १६ घण्टा लोडसेडिङ्ग को मारमा बस्नु परेको छ।  जसले गर्दा देशमा भएका सानातिना कल कारखाना हरु पनि बन्द हुने अवस्थामा छन्। अनि ८० प्रतिशत नेपाली जनता कृषि पेशामा निर्भर छन् , तर पनि भोकमरी हटाउन सकेको छैन। बारम्बार  पत्रिकामा छापिने यी भोकमरीका समाचार न कहिले सरकारले यसको रोकथामको लागी कुनै कार्य गरेका छन् न हामी स्वयं नै आत्मनिर्भर हुने कोसिश गर्छौ। त्यसैले सानो सानो कुरामा पनि अरुको भर पर्नु भन्दा हामी आफै आत्मनिर्भर हुने कोसिश गरौ। आफ्नो देश बनाउन को लागी पहिले आफै बाट शुरु गर्नु पर्छ।

14
Apr
09

Happy New Year 2066

newyear

14
Apr
09

आफ्नै गन्थन

10

म कुनै ब्लगर त होईन, अनि मलाई यो ब्लगको बारेमा केहि थाहा पनि छैन। तर पनि फुर्सद समयको सदुपयोग गर्दै कहिले काही आफ्ना मनमा लागेका कुराहरु ब्लगमा उतारेर तपाई साथीहरु समक्ष पुर्‍याउने प्रयास गर्दैछु। बिदेश को एक्लो नैराश्य जीवन, दिन भरिको कामको थकाई, जसले गर्दा सधै ब्लगमा समय दिन पनि सकिदैन। तर पनि कहिले काही मनमा रहर लागेको बेलामा दुई चार कुरा हरु लेख्न्न कम्प्युटरको अगाडी बस्छु। अनि लेख्न्न शुरु गर्छु। तर के लेख्न्ने के नलेख्न्ने, कहिले काही लाग्छ आफू जन्मेको गाँउको बारेमा लेखुँ , अनि कहिले लाग्छ बिदेशको बारेमा जहाँ म आफु एक्लो जीवन संघर्ष गरिरहेको छु। कहिले लाग्छ माया पिरतीको बारेमा लेखुँ, अनि कहिले लाग्छ आफ्नो देशको राजनीतिक अस्थिरताको बारेमा। तर जुन कुरा लेख्न्न शुरु गर्छु, फुल्न भन्दा अगाडीनै झरेको फूलको  कोपिला जस्तो मेरो लेख पनि बिचमानै तुहिएर जाने गर्दछ। कहिले काही लाग्छ सबैको मेरो जस्तै यस्तै कुनै पनि लेख सकिनु अगावै तुहिएर जाने हो भने त सायद कुनै पनि  उपन्यास, कथा संग्रहहरु पुरा हुने थिएन होला।  कहिले काही अरु ब्लगहरु पनि पढ्ने गर्छु, अनि लाग्छ म पनि यस्तै कुनै नयाँ कुराहरुको बारेमा लेखुँ। तर पनि जिन्दगीको अधुरो यात्रा जस्तै मेरो लेख पनि सधै अधुरो हुने गर्दछ।  यो ब्लग पनि एउटा नशा जस्तै रहेछ जुन सधै निरन्तरता दिन पनि नसकिने अनि छोड्न पनि नसकिने। यस्तैमा मैले यो ब्लग शुरु गरेको पनि २ बर्ष भएछ। तर २ बर्षमा मेरो के प्रगती भयो या भएन त्यो त मलाई थाहा छैन।  तर तपाईहरुको प्रेरणाले गर्दा मलाई अझ धेरै लेख्न्ने हौसला मिलेको छ।  अझ पछिका दिनहरुमा अरु धेरै कुराहरु लेख्न्ने कोशिस गर्नेछु। तर पछिको समयको कुरा कसलाई के थाहा र समयको गती सँगै चल्नुपर्ने मान्छेको जिन्दगी, समयको छालले जहाँ पुर्‍यायो त्यही हुत्तिएर जानुपर्ने हुन्छ। कतिपय परिवेशमा विवश्तामा परेर नचाहेको ठाउँमा पुग्नुपर्ने हुन्छ।  

                                      यस्तै समयको गती सँगै कयौ वशन्तहरु पार भईसकेका छन्। अनि कति आउन बाँकी नै छ। यसै क्रममा अहिले पनि घडीको सुईले २०६५ साललाई पछाडी पार्दै २०६६ सालमा पाईला राखिसकेको  छ। आज वैशाख १ गते, नयाँ बर्ष। यो नयाँ बर्षले कति मान्छेको जिन्दगीमा खुशी बोकेर आएका होलान अनि कतिको जिन्दगीमा दु:ख। कामना गरौ सम्पूर्ण बाबा-आमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको जिन्दगीमा नयाँ बर्षले  खुशीको वहार ल्याओस। अन्त्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ बर्ष २०६६ सालको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।

सुवाश श्रेष्ठ दोहा कतार

06
Apr
09

अतितको सम्झनामा

म उसलाई धेरै माया गर्छु, उनका हर सपना म पुरा गर्न चाहन्छु। म यो सारा सँसारलाई पार गरेर क्षितिज पारि यस्तो घर बनाउन चाहन्छु, जहाँ अरु कोही हुने छैन मात्र हामी दुई जना हुनेछौ, अनि हाम्रा सम्पूर्ण चाहनाहरु पुरा हुनेछ। मेरो वाल्यकाल देखिको साथी उनि सधै यस्तै कुरा हरु गर्ने गर्दथ्यो म सँग। अनि म उसलाई भन्ने गर्थे यस्ता कुरा हरु सिर्फ फिल्ममा मात्रै हुने गर्छ, तिमी वस्तविकतामा आउने कोशिस गर, तर आज सबै ति कुराहरु मेरो मानष्पटलमा अतितको अविष्मणीय याद बनेर बसेको छ। प्रेम प्रप्तिको लागी उनी जे गर्न पनि तयार थिए तर उसको भाग्यमा नै थिएन कि खै के भनु, जसको बारेमा उ सधै सपना देख्न्ने गर्दथ्यो, अनि उसैको बारेमा कुरा गर्ने गर्दथ्यो। तर आज उनी यो सँसारको भिडमा कहि हराईरहेकी छिन्। थाहा छैन आज उ कहाँ छिन्, कस्तो अवस्थामा छ चाहेर पनि उनलाई भेट्न सकिरहेको छैन। मेरो वाल्यकालको साथी मेरो लागी सब थोक थियो, सधै हसिँलो खुशी देखिन्थिन्। तर अलि छिटो रिसाउने र जिद्धी खालको थिईन्। यसको वावजुद पनि उनि मेरो सबै भन्दा मिल्ने साथी थियो। उसैको कारणले मैले प्रेमको बारेमा यति नजिक बाट जान्ने मौका पाएँ।
ति मेरो प्रेमका शिक्षक, आदर्श या आत्मिय मित्र, थाहा छैन आज कहाँ छिन् । कहि उ मलाई अनि यो सँसारलाई छोडेर त गएकी छैन? तर अह कहिले यस्तो हुन सक्दैन। उनि त्यस्तो जिन्दगी देखि हरेस खाएर भाग्ने मान्छे थिएन। उनैले त सधै भन्ने गर्थी , हामीले हरेक दिन खुशी सँग जिउनु पर्दछ। मान्छेको जीवनमा दु:ख त आउछन् तर दु:खलाई पन्छाएर सुख सँग जिउने चेष्टा गर्नु पर्छ। किन कि मान्छेले एक चोटी मात्रै जिन्दगी प्राप्ति गर्छ। अनि उनले भन्ने गर्थिन् यसलाई पनि तिमी फिल्मको डाईलग नै त सम्झिने होला नि होईन! अनि म सोच्न बाध्य हुन्थे। जब म प्रेमको बारेमा कुरा गर्न डराउथे अनि उनले मेरो हिम्मत बढाई दिदै अनि भन्ने गर्थिन्, यदि तिमी कसैलाइ साँचो प्रेम गर्छौ भने कोहि सँग पनि डराउन हुदैन। मान्छेको जीवनमा मात्र एक चोटी सच्चा प्रेम मिल्छ, अरु त सबै संझौता मात्रै हुने गर्दछ। पहिलो प्रेममा त उनले धोका खाईसकेकी थिइन् । दोस्रो प्रेममा पनि आफ्नो घर परिवारको अगाडी लाचार भएर उसको साथ छोड्न पर्यो। अनि सधै भन्ने गर्थिन् जसलाई मैले माया गरें उसले अरु कसैको लागी मलाई छोडेर गयो अनि जसले मलाई माया गर्थ्यो उसले आफ्नो परिवारको निम्ति म सँग नाता तोड्यो। तर पनि उनले कसैलाई दोष दिएन, कसैलाई नराम्रो भनेन, सबैलाई भन्ने गर्थिन् सधै खुशी रहनु बस सदा खुशी रहनु।। मैले सुनेको थिएँ, यदि कसैले सच्चा प्रेम गरेर उसलाई धोका दियो भने उसलाई घृणाको दृष्टृकोणले हेर्ने गर्दछ। तर जसले उनलाई धोका दिएका थिए उसलाई कहिले पनि त्यस्तो दृष्टृकोणले हेरेन।
उसको पहिलो प्रेमको बारेमा त म केहि भन्न सक्दिन तर दोस्रो प्रेमको बारेमा भने सबै कुरा थाहा छ मलाई। उनी आज खुशी साथ जीवन बिताईरहेकी छिन्। तिनका अहिले विहे भईसकेका छन्। उनको साथमा दु:ख सुखमा साथदिने पति छन्, साथमा एउटा प्यारो छोरा अनि छोरी छन्। उनले आफ्नो छोराको नाम त्यस केटाको नाम बाट राखेकी छिन, जसलाई उनि अतिनै मन पराउँथिन। अनि छोरीको नाम त्यो केटीको नाम बाट राखेकी छिन जुन केटीलाई त्यो केटाले मन पराउथ्यो ।

03
Apr
09

ह्याप्पी चैत्र दशैं

आज चैत्र दशै रहेछ, आफुत याहाँ मुस्लिम देशमा छु, केहि थाहा हुदैन, नेपालमा फोन गरेर नसोधेसम्म र न्युजपेपर हरु नहेरे सम्म। त्यसोत न्युज पेपरहरु नेहेरेको पनि होईन तर खै किन हो आज दशैको दिन नै बिर्सिएछु दशै हो भनेर। आज चैत्रदशैको दिन नेपालमा घर परिवारलाई अनि साथीभाई हरुलाई फोन गरेर दशैको शुभकामना दिनुपर्ने, तर म आफैले बिर्सिएछु  दशै भनेर   त्यसैले ढिलै भएपनि सम्पूर्ण साथीहरुलाई यहि अन्लाईन मार्फत चैत्र दशैको शुभकामना व्यक्त गर्दछु!!!

सुवाश श्रेष्ठ दोहा कतार

02
Apr
09

किन फेल हुन्छन् विधार्थीहरु परिक्षामा ?

१) एक बर्षमा ३६५ दिन हुन्छ।
२) त्यसमा ५२ दिन शनिबार बिदा कटाँउदा बाँकी हुन्छ ३१३ दिन।
३) जाडो बिदा ५० दिन अनि बाँकी भयो २६३ दिन।
४) दिनको ८ घन्टाको दरले सुत्दा पुरा बर्षमा १२२ दिन जान्छ,
अनि बाँकी दिन बस्छ १४१ दिन।
५) दिनभरिको कामको रुटिङ् बनाउँदा १ घन्टा बित्छ अनि पुरा
बर्षमा १५ दिन जान्छ। बाँकी दिन भयो १२६ दिन
६) २ घन्टा दिनको खाना खानको लागी जान्छ त्यसको पुरा
बर्षमा ३० दिन हुन्छ, अनि बाँकी दिन रहन्छ ९६ दिन।
७) दिनको १ घन्टा साथीहरु आफ्नो घरपरिवार सँग कुरा
गरेर बित्छ, जसको पुरा बर्षमा १५ दिन हुन्छ अनि बाँकी भयो ८१ दिन।
८) अनि स्कुलमा परिक्षाको लागी ३५ दिन अनि बाँकी भयो ४६ दिन।
९) चाडपर्वहरुको बिदा पुरा बर्षभरिमा ४० दिन अब बाँकी भयो ६ दिन।
१०) बिरामी परेर वा कुनै कारणले ३ दिन छुट्टी अनि बाँकी भयो ३ दिन।
११) बर्षमा फिल्म हेर्न वा काही जाँदामा २ दिन अनि बाँकी भयो १ दिन
अनि त्यो १ दिन उसको जन्मदिन हुन्छ।अब तपाई भन्नुहोस् पढ्ने
उसको कति दिन बाँकी भयो। अनि तपाई आफै बिचार गर्नु विधार्थीहरु
किन फेल हुने रहेछ।

सुबाश श्रेष्ठ गोरखा नेपाल

12
Mar
09

untitled

17
Feb
09

जिन्दगीको गोरेटो

102

जब मान्छेले यस धर्तिमा पाईला टेक्छ, त्यसपछि उसको आमाको स्याहार सुसार पालनपोषण पश्चात समयको परिवर्तन सँगै उसको शारिरीक अनि बौद्धिक बृद्धि हुदै जान्छ। उसले आफ्नो आगामी जीवनमा विभिन्न राम्रा सपनाहरु देखेका हुन्छ, अनि आफ्ना जीवनका बारेमा कल्पना गरेका हुन्छ। तर सबैको पुरा भने भएको हुदैन। यस्तै म पनि आफ्नो जीवनमा बेतालको हिडाईसङ्गै याहाँ सम्म आईसकेको छु, धेरै बशन्तहरु म बाट टाढिसकेका छन्। जीवनका विभिन्न उत्तारचढावहरुमा म कयौ पटक हाँसेको छु अनि रोएको पनि छु।चाहना एकातिर अनि यथार्त अर्कोतिर, यस्तै यस्तै माझेधारहरुमा म धेरै पटक झस्केको छु अनि तर्सिएको छु। तर पनि किन किन म आफ्नो जीवन लम्ब्याउने प्रयासमा छु । अनिकहिले कठोर कठोर समयका जन्जिरहरुले बाँधिएर बाँच्नु पर्दा भित्र भित्रै उकुसमुकुस भैइ आफुलाई एक मरेतुल्य महशुष पनि गरेको छु। साँच्चै जीवन विचित्रकै हुदो रहेछ। कहिले आफुले जीवनलाई डोराईन्छ त कहिले आफुलाई जीवनले डोराईन्छ। जीवन एक संघर्ष हो, यो धुर्बसत्य कुरा हो। सायद त्यसैले होला म पनि आफ्नो जीवन संघर्ष बाट टाढिन सक्दिन। हो म आफ्नो जीवन संघर्षलाई युद्धको उपमा दिएको छु। जहाँ हार र जीतको सवाल त हुन्छ नै तर हार्ने नियत लिएर त कोहि पनि युद्धमा सहभागी हुदैन। जीत नै हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी हुदैन। समयको निष्ठुरी परिश्थितिलाई आखिर कसलेपो नकार्न सक्छर। किनकी यी समय कसैको पनि वशमा हुदैन। त्यसैले नचाहेको मोडमा पुग्नुपर्ने अवस्था या बिवस्थाहरु त सायद एउटा जिन्दगीको प्रक्रियानै हो। यस्तै समयको परिवर्तन अनि जिन्दगीको दौरान सङ्गै आज म आफ्नो घर परिवार अनि समाज देश छाडेर यस कतारको मरुभुमीमा संघर्षको जीवन बिताईरहेको छु। हुनत आफ्नो घर परिवार समाज देशलाई छाडेर एक्लै टाढा बस्ने ईच्छा त कसलाईपो हुन्छ होलार तर पनि आफ्ना जीवनमा आउने विभिन्न समस्याहरुको समधान सङ्गै उज्वल भविष्यको मिठो कल्पना बोकेर आज याहाँ सम्म अैइपुगेको छु, भोली कहाँ पुग्नेछ। समयको चक्रव्युहमा मान्छेको जिन्दगी घुमीरहेको हुन्छ। कुन बेला कहाँ पुग्ने हो, कहाँ गएर जीवनको यात्रा टुंगिनेछ कसैलाई पनि थाहा हुदैन।

सुबाश श्रेष्ठ दोहा कतार

14
Feb
09

Happy Valentine’s 2009

2009valentines

09
Feb
09

101

आखिर सत्य त त्यहि हो मान्छे जन्मे पछि मर्न त पर्छनै,फरक कोहि ढिलो अनि कोहि चाँडो मात्र हो । तर पनि किन किन यहि सत्य कुरा थाहा हुदाँ हुदै पनि, हामी नजानेको जस्तो गरेर बुझ पचाईरहेका हुन्छौ। अविचल सत्य तर विडम्बना, यो सत्यको महसूस त्यही आर्यघाटबाट निस्कने बित्तिकै बिर्सन्छन् मानिसहरुले, जहाँ मान्छेको जिन्दगीको अन्तिम गन्तव्य हुने गर्दछ। तपाई हामी सबै जना यो सब अनित्य छ भन्ने बुझ्दाबुझ्दै पनि यो तेरो, यो मेरो भनेर हिँड्छन् आखिर किन ? हामी जस्तो आयौं त्यस्तै जाने छौं । न जन्मदा केही लिएर आएका थियौं, न मर्दा केही बोकेर जाने छौं, त्यसैले तेरो र मेरो भन्ने भन्दा हाम्रो भन्ने भावना राखौ र सबै जना एक जुट भएर अगाडी बढौ!!!!

सुबाश श्रेष्ठ गोरखा नेपाल

08
Sep
08

खाडी देशको यात्रा

‘खाडी’ शब्द मध्यम तथा निम्नवर्गीय परिवारका लागि ज्यादै महत्वपूर्ण छ । याहाँ १० लाखभन्दा बढी सपनाभोगी नेपाली आफ्नो सपनाको खेती गर्दै छन् । खाडी राष्ट्र मध्ये कतारले पछिल्ला दुई दसकमा जसरी अभूतपर्ूव विकास गरेको छ त्यसरीनै हामी नेपालीहरुको लागी पनि अवसरहरू थपिदै छन् । त्यसैले नेपालीहरूका लागि एउटा आकर्ष वैदेशिक रोजगारीको गन्तव्यस्थल बन्दै गएको छ । कतार सरकारले वैदेशिक कामदार ल्याउने राष्ट्रहरूमध्ये सधैं नेपाललाई पहिलो सूचीमा राख्ने गर्दछ । तर्सथ कतारमा नेपालीहरूको संख्या दिन-प्रतिदिन बढ्दै गएको छ । कतारमा नेपाली कामदारका लागि विभिन्न अवसरहरू रहेका छन् । कतारमा काम गर्ने नेपालीहरू कम्पनी मालिकदेखि सामान्य न्यून तलबमा काम गर्नेसम्म छन् । आज विभिन्न कम्पनीका उच्च तहसम्म नेपालीको पहु”च पुगिसकेको छ । नेपालीकै त्याग, साहस र इमान्दारीले स्वयं कतार सरकार गदगद छ । तर कतारमा काम गर्ने नेपालीलाइ आफ्नै देशमा हेलाको दृष्टिकोणले हेरिन्छ । कहाँ गएको छ रे! कतार भन्नासाथ नाक खुम्च्याउने चलन अद्यापि हाम्रो समाजमा प्रचलित छ । कतारमा काम गर्ने सबै लेवर हुन्, न्यून तलबमा काम गर्छन्, गरिबका छोराहरू जो पढेका छैनन्, हातमा सीप छैन ।  गरिब हुनु के उसको दोष हो ?  ईमान्दारपूर्वक आफ्नो श्रम बेच्नु के उसको  गल्ती हो ?  कतारमा काम गरे पनि अमेरिकामा काम गरे पनि नेपाली श्रमिक नै हो, लेवर नै हो, स्थान विशेषले केही फरक पर्दैन । हाम्रो समाजमा छोरो अमेरिका गएछ भन्नासाथ ठूलो मान्छेको रूपमा हेरिन्छ, सम्मानजनक व्यवहार गरिन्छ खाडीमा काम गर्नेहरूलाई किन नराम्रो दृष्टिले हेरिन्छ – खाडी पस्ने नेपालीलाई नेपालका विभिन्न स्थानमा सम्मानजनक व्यवहार गरि”दैन । विभिन्न दुःख र झमेलाहरू उठाइन्छ । सफा र्टाई, कोट अनि कारमा हुत्तिएर अमेरिका जान एयरपोर्ट छिरेको एउटा नेपाली र झुत्रेझात्रे कपडामा उध्रिएको झोला बोकेर कतार जान एयरपोर्ट छिरेको नेपालीमा धेरै असमान व्यावहार गरिन्छ । आखिर दुवै नेपाली हुन् । दुवै काम गर्नका लागि जाँदै छन् भन्ने किन सोच्दैनन्।

                        मानिसलाई राम्रो र नराम्रो ठूलो र सानो उसको व्यवहारले, उसको विचारले बनाउने हो, कामले कोही मनिस ठूलो सानो हुदैनन्। विश्व कहाँबाट कहाँ पुगिसक्यो, हामीले भने हाम्रो मानसिकता परिवर्तन गर्न सकेका छैनौं । विश्वका विभिन्न देशका मानिसहरू कतारमा काम गर्न आउ”छन् । कतारमा जत्तिको सम्भावना सायद विश्वमै नहोला । कतार विश्वको सबैभन्दा सुरक्षित राष्ट्रमध्येमा अग्रस्थानमा पर्छ । कतारमा नेपालीले नेपालीलाई नै हेप्ने चलन विद्यमान  छ । एउटा राम्रो पदमा पुगेको नेपालीले सामान्य लेवरका रूपमा कार्यरत नेपालीलाई गर्ने व्यवहार देख्दा स्वाभिमानी नेपालीको लज्जाले शिर निहुरिन्छ । कतारका सम्पन्न मानिने नेपालीमा अपनत्व छैन । पैसाले तिनीहरूलाई पत्थर बनाएको छ, अपनत्वको खडेरी परेको छ । प्रवासी जीवनका असहजतालाई चिर्दै बाध्यताको तातो वाफमा रमाउने तल्लो वर्गका नेपाली जताततैबाट हेपिने र अपमानित हुने परम्परा नै हाम्रो संस्कृति बनिसकेको छ । जब सम्म हामी नेपालीमा कामको सही मुल्ङ्याकन  गर्ने शैलीको बिकास हुदैन, तब सम्म हम्रो देश अगाडी बढ्न सक्दैन। 

सुबाश श्रेष्ठ दोहा कतार

01
Jul
08

Visit To Manakamana Mandir

11
Apr
08

‘मिनी नेपाल’

जब म नेपालमा थिए, त्यसबेला सुनेको थिए कतारको बारेमा अनि लाग्थ्यो, कस्तो होला । के हु“दो होला र  पहाडी शीतल भूमिमा जन्मेका हाम्रा दाजुभाइहरू त्यो प्रचण्ड गर्मीमा कसरी दिनरात बिताउ“दा होलान् भन्ने जस्ता कुराहरु मेरो मनमा लाग्ने गर्दथ्यो।

तर म पनि आज यहि दोहा कतारमा कार्यरत छु। जब म यस कतारको मरुभुमीमा पहिलो पाईला टेके तब याहाँ पनि आफ्नै चिर परिचित जस्तो लाग्यो। जहा“ हेर्छु नेपालीको चहलपहल, बन्दै गरेको गगनचुम्बी टावरका निर्माणाधीन छतमाथि बालुवा चालिरहेका गोर्खाली देख्छु बिग्रिन थालेको सडकको खाल्डो टाल्न मसला हाल्दै गरेको जनकपुरिया देख्छु । टेक्सीको स्टेरिंग समातेर हवाको गतिमा सुकिलो सडकमा टेक्सी गुडाएको पोखरेली देख्छु सडक दर्ुघटनामा परेर यहाको सुविधासम्पन्न सरकारी अस्पताल हमाद पुर्‍याइएको पर्ूवेली देख्छु, राति सुतेको सुत्यै हुने रुकुमेली देख्छु मेनपावर कम्पनीले लाखका लाख रुपैया“ लिएर पनि बिना अत्तोपत्तो यो खाडी पठाएपछि सात सात दिनसम्म एयरपोर्ट र तातो सडकमा भोकभोकै रात बिताएर, बल्लतल्ल नेपाली दूतावासको आश्रयस्थलमा आइपुगेका रौतहटवासी देख्छु जहा“जता गए पनि समग्रमा यहा“ पनि नेपालजस्तो नेपाल देख्छु ।

पहिले कतारबाट फर्किनेहरुको मुखबाट सुनिएको उही नेसनल एरियामा बेलुका लाग्ने हजारौं नेपालीको जमघट, उही विस्मिल्ला पार्कमा शुक्रबार भेला हुने हजारौं नेपालीको रमन्ते अनुहार, सपिटल छेउमा उही नेपाली बाजेको नेपाली स्वादको होटल, नेपाली भान्सा घरको सुकुटी र गुन्द्रुक, रमेशबाबु श्रेष्ठको सम्सारा थकाली भान्छा घरको टिम्बुर मिसाएर बनाइएको देश सम्झाउने नेपाली स्वादको चटनी । सहानिया होस् कि तरबार गेट, जेद्दा टावर होस् कि अल हदिया- सबै ठाउ“मा नेपालीहरूको जमघट । एकआपसमा गाउ“घरको, देशदुनियाको कुरा गर्नैमा व्यस्त छन् नेपालीहरू । एकआपसमा भलाकुसारी साटासाट गर्दै  देशमा रिलिज भएको नया“ फिल्म, अडियो सिडीको चर्चा । देश फर्केर आएका वा नया“ आएकाहरूले आफूस“ग ल्याएको घरको चिठीपत्र, क्यासेट, लुगाफाटो तथा आमाले पठाएको सेलरोटी, मिर्ठाई, दलपुरी आदिको साटासाट । नेपाली टेलिभिजनहरूका भिजुवल देख्न नपाए पनि, नेपाली अडियो र भिडियोबाट आउने  ‘माया उड्यो बादलु छुनलाई’ जस्ता गीतहरूको स्पन्दनले मलाई मात्र होइन, सारा नेपालीलाई आफ्नो देश, आफ्नो गाउ“घर र आफ्नो परिवेश स्मरण गराइरहेको छ यो दूरदेशमा । यो परिवेशले आफू नेपाल बाहिर रहेको अनुभवसमेत हुन दि“दैन  । बिहान आठ बजेदेखि सुरु हुने चर्को घाम र हावास“ग मुकावला गर्दै दोहाको सडक तथा सहरलाई जीवन्त बनाउने नेपालीहरूको पाइलाको  कसिलो चाल र यिनै समूहहरूबाट सुस्तरी आउने नेपाली, मैथिली र हिन्दी फिल्मी गीतको मिसावटयुक्त आवाजले आफू काठमाडौंको सुन्धाराचोकमा पो कतै छु कि भन्ने आभास दिलाउ“छ । सुन्धाराचोकजस्तै मैथिली, हिन्दी, भोजपुरी, नेपाली र नेवारीभाषीको चहलपहल यहा“ पनि हेर्न सकिन्छ । यी भाषाहरूको संगम यहा“ पनि सुन्न सकिन्छ । यहा“ न कोही धनी छन्, न कोही गरिब । न कोही पहाडी छन् ,न कोही मधेसी । सबै नेपाली छन् । मात्र नेपाली । यहा“ नेपालीको नेपालीबाहेक अर्को कुनै परिचय छ भने त्यो हो काम गर्ने कम्पनीको पोसाक र हातमा बोकेका औजार । समग्रमा भनौं भने दोहामा मैले देखेको मिनी नेपाल नेपालभन्दा पनि बढी रमाइलो छ  । नेपालभन्दा पनि बढी सुन्दर छ, नेपालभन्दा पनि बढी विश्वासिलो छ, कारण यहा“ सबै नेपाली छन्, मात्र नेपाली ।

सुवाश श्रेष्ठ

गोरखा नेपाल  (हाल दोहा कतार)

21
Mar
08

मेरो तीन वर्षको कलेज जीवनमा भेटिएका अधिकांश साथी सारहीन लागे, पढ्न र लेख्न बाहेक कलेजको अर्को फाईदा मित्रता पनि हो। तर मेरो कलेज जीवनमा मित्रतापक्ष एकदम कमजोर रह्यो। कलेज छाडेर बंक पार्टी अटेण्ड गर्ने, दिनदिनै मोटर बाईक फेरेर चुरीफुरी देखाउने केटा साथी र ब्यागमा किताब,कपि भन्दा मेकअपका सामान र पार्टीका टिकट बोक्ने केटी साथीहरु सबै निरर्थक भेटिए।

सुबाश श्रेष्ठ दोहा कतार

22
May
08

म गोरखाको एउटा गाँउमा जन्मिएको जहाँ नेवारी समुदाय भएर पनि कसैले नेवारी बोल्ने थिएन। सायद त्यसैले होला म पनि सानै उमेर बाट नेवारी सिक्नबाट वन्चित भएं। जब पढाईको सिलसिलामा म काठमाण्डौमा बस्न थाले त्याहाँ वरीपरि सबै नेवारी सुमादाय थियो। जब म पनि नेवार भनेर थाहा पाउना साथ त्याहाँका मान्छेहरु नेवारीमा कुरा गर्थे। तर म नेवारी बोल्न आउदैन भन्न पनि लाज लाग्थ्यो, बोल्न पनि सक्ने थिएन। मलाई पनि नेवारी बोल्न सिक्न मन नलागेकोत होईन, साथीमार्फत् कापीमा लेख्न लगाएर थोरै थोरै कुराहरु सिकेको थिए, अहिले म आफ्नो जन्मभुमी नेपाललाई छोडेर कतारमा कार्यरत छु। कतारको यात्रासंगै अहिलेत त्यहि अलि अलि जानेको पनि बिर्सिसकेको छु।

सुबाश श्रेष्ठ

गोरखा नेपाल (हाल दोहा कतार)

06
Feb
08

युवा डायरी

एउटा युवाको डायरी जसलाई जीवनयात्रामा गाँउको अनन्त श्रिङ्खलाले माया गरिरहेको हुन्छ, काठमाण्डौं आएर नचाहदा नचाहदै पनि अनेक दुख पिडा हरु झेल्नु पर्ने हुन्छ। पैतला तिनै हुन् जसले आजसम्म गन्तब्य भेटेको छैन। देशमा लोकतन्त्रको आगमन सँगै गाँउका ति केटो आफ्नो पैतलाको गन्तब्य भेटिने अभिलाशाले काठमाण्डौं छिरेका हुन्छन्। अनि काठमाण्डौं छिर्दाका जोस र उमंग सबै काठमाण्डौंको प्रदुषित धुँवा धुलोमा बिलिन भैसकेको हुन्छ। राजनीतिकको तातो मौसमको चिसोपन गराउन सकेको छैन। पसलभरि टांगिएको पत्रिकामा कहि नयाँ नेपालका धर्कोसम्म कोरिएको खबर भेटिन्नन्। पत्रिकापसल वरिपरि उभिएर तातो चिया र रक्सी जस्तो गन्हाउने ताजा समाचार पढिरहेका हुन्छन्। समाचार नछापिएको भए देश क्रिष्णभीरको मोडमा पुगेको छ भन्ने थाहा हुदैनथ्यो। लोडसेडिङ को नयाँ रुटिङ् पढ्न पाउने थिएन, मुल्यव्रिदिको समाचार पढ्न पाउने थिएन। आजकालत सगरमाथाको देश भन्नपनि लाज लाग्ने बेला आईसक्यो। विश्वमा शान्तीको देश भनेर चिनिएको गौतम् बुद्धको देश नेपालमा आफ्नै दाजुभाई बिच एक आपसमा मारामार काटाकाट भैरहेका छन् । बिहान घरबाट निस्केको छोरो छोरी बेलुका घर फर्किने होकी होइन थाहा हुदैन। विश्वको दोश्रो जलस्रोतको धनि देशको राजधानी काठमाण्डौमा पिउने पानी हुदैन। क्रिषीप्रधान देशमा अनिकाल लाग्छ। यहि देशको राजधानी काठमाण्डौमा भौतारीरहेको हामी युवाहरु विभिन्न देशका लागी वैदेशिक रोजगार खुलेको छ भन्ने थाहा पाएर भर्खरै संघिय गणतन्त्र भएको मुलुकका युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनुहार भरि अनेकौ अभिलाशाहरु बोकेर अनि ओठमा क्रितिम हाँसो लिएर धन कमाउन बिदेसिने सुरमा हुन्छन्। थाहा छैन कहाँ गएर अलपत्र पर्ने हो, गन्तव्यसम्म पुग्ने होकी हैन, पुगे पनि कुन कम्पनीमा बहादुरका बिल्ला टाँगेर सगरमाथाको देश हामी भनेर मजदुरीका काम गर्नु पर्ने हो। जसोतसो गरेर गन्तव्य सम्मत पुगिन्छ। काम शुरु हुन्छ, अनि दिन बित्छ महिना बित्छ तर कम्पनीमा पैसा दिदैन, साथीहरुबाट सुनिन्छ तिन महिनाको व्यालेन्स राखेर अनि मात्रै दिईन्छ, घरबाट साहुको करकर छ भनि चिठी आउन शुरु हुन्छ , ५५ डिग्री त्यो तातो घाममा दुई बर्ष सम्म काम गरेर बल्लतल्ल साहुको ॠण तिरेर सकिन्छ तर साथमा घर फर्किने पैसा हुदैन अनि दुई चार पैसा जम्मा गरेर घर फर्किनको लागी कम्पनीमा निवेदन दियो दुई चार दिन गर्दै दुई चार महिना पुराईदिन्छन्। अनि जब घर फर्किने दिन विमानमा पाईला टेक्छ त्यो दिन जिन्दगीको सबै भन्दा खुशीको क्षण जस्तो लाग्छ । जब त्रिभुवन अन्तराष्टिय विमानस्थलमा विमान अवतरण गरिन्छ फेरि सुरु हुन्छ घुस अनि कमिसन। जहाँ सरकारी बिल्लाधारी हरु खुलमखुला घुस अनि कमिसन खाईरहेका हुन्छन् । जब विमनास्थल बाट बाहिर निस्कन्छ अनि त्याहाँ ट्याक्सीको त कुरै नगरौ । उनीहरु नेपाली रुपियाँ होइन डलर अनि रियल खोज्छन् ।

सुबाश श्रेष्ठ
गोरखा नेपाल
हाल दोहा कतार

03
Jun
08

प्रेम

मान्छेलाई सांसारिक दुःख, पीडा, अभावको रापमा पनि चाँदनीले झैं शीतलता दिने तत्त्व हो प्रेम । प्रेमका अनेक स्वरूप हुन्छन्- आमाको प्रेम, पिताको प्रेम, परिवारको प्रेम, साथीभाइ-इष्टमित्रको प्रेम, समाजको प्रेम, देशको प्रेम आदि । तर यी सबैभन्दा छुट्टै र बेग्लै प्रेम हो प्रेमी-प्रेमिकाको प्रेम, युवा अवस्थामा हुने दुई विपरीत लिङ्गबीच हुने प्रेम । प्रेमको कुनै जात हुदैन, न कुनै धर्म नै हुन्छ । यसलाई न कुनै उमेरले छेक्छ, न भाषाले, न सिमानाले नत भूगोलले नै । प्रेमको त आँखा पनि हुदैन- यसले राम्रो-नराम्रो, धनी -गरिब, कालो -गोरा केही देख्दैन । प्रेमले मात्र प्रेम देख्छ, वंश। कसको जीवनमा कहिले प्रेम हुन्छ कहाँ हुन्छ – कोसित हुन्छ – कस्तासित हुन्छ – कस्तो अवस्थामा हुन्छ – कुनै अत्तोपत्तो हुदैन । जब थाहा हुन्छ, तब आफू कहिल्यै फर्किन नसक्नेगरी सम्पूर्ण रूपले अरु कसैको भइसकेको हुन्छ। शरीर आफ्नो त आत्मा अरू कसैको, आँखा आफ्नो त सपना अरु कसैको, मुटु आफ्नो त ढुकढुकी कसैको । भनिन्छ, लाटोकोसेरोले दिउसो र कागले राति देख्दैन, तर प्रेमान्धले रात-दिन कुनै बेला देख्दैन।

सुबाश श्रेष्ठ गोरखा नेपाल

23
Jan
08

गोरखालाई जनयुद्धका महत्वपुर्ण क्षेत्र मानिनुका कारणहरु:-

१) माओवादी अध्यक्ष प्रचण्ड गोरखामा शिक्षण पेशा गर्दा गर्दै राजनितीकमा लागेका थिए।
२) जनयुद्ध अघि पार्टीको हेड क्वार्टर गोरखामा थियो ।
३) जनयुद्धको पहिलो फौजी योजना २०४५ सालमा गोरखाको सिरानचोकमा भयो, अनि जनयुद्ध तयारीको अन्तिम योजना कोर्ने काम २०५२ सालको असोजमा गोरखाको धुवाँकोटमा बसेको केन्द्रिय समितीको बैठकले गर्‍यो।
४)२०५२ साल फाल्गुन १४ गते गोरखामा मारिएका विधार्थी दिल बहादुर रम्तेल जनयुद्धकै पहिलो शहिद बन्न पुगें।
५)२०५३ साल भदौ १ गते देव गुरुङ्ग गोरखाको छाप्राकबाट पक्राउ परे, जो पछि ठुले राई सँगको साटासाटमा छुटेका थिए।
६)२०५६ साल भदौ १३ गते प्रहरी कारबाहीमा मारिएका गोरखाका पोलिटब्युरो सदस्य सुरेश वाग्ले माओवादीका जनयुद्धमा मारिएका सबैभन्दा माथिल्ला नेता हुन्।
७)२०५७ साल चैत्र १७ गते गोरखाका ६ माओवादी महिलाले त्याहाँको जेल ब्रेक गरेर भाग्न सफल भएका थिए।

सुबाश श्रेष्ठ गोरखा नेपाल




Follow

Get every new post delivered to your Inbox.